नयाँ वर्ष २०७७ को शुभकामना

नयाँ वर्ष २०७७ को शुभकामना

नयाँ वर्ष वि. सं २०७७ को अवसरमा स्वदेश तथा विदेश खासगरी ईजरायल र साईप्रसमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सु-स्वास्थ्य, सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। वि.सं २०७७ सँगै कोरोनाको कहर समाप्त होस् साथै यस कठिन परिस्थितिमा यहाँहरु सबैको धैर्यता र मनोबल उच्च बनोस् भन्ने कामना समेत गर्न चाहन्छौं।

नेपाली राजदूतावासले प्राप्त गरेको सहयोग र साथका लागि साईप्रसस्थित अवैतनिक वाणिज्यदूतावास, ईजरायल तथा साईप्रसका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरु, विभिन्न व्यक्ति, संघ-संस्था लगायत सबैको योगदानको सराहना गर्दै भविष्यमा समेत यस्तै भूमिकाको अपेक्षा गर्दछौं।

ईजरायल तथा साईप्रसमा रहनुभएका केही नेपालीहरुले आफूलाई स्वदेश फिर्तीको वातावरण मिलाइदिन अनुरोध गर्दै आउनुभएको छ। यो कुराको जानकारी हामीले नेपाल सरकार समक्ष राखिसकेका छौं। अहिलेको परिस्थिति लम्बिरहेमा र समस्या बढ्दै गएको खण्डमा सरकारले आवश्यक पहल गर्नेछ भन्ने सबैलाई विश्वास दिलाउन चाहन्छौं।

COVID-19 सँगै ईजरायल र साईप्रसका विभिन्न स्थानमा रहनुहुने नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिँदै आइपर्न सक्ने कुनै पनि समस्या समाधानमा सहयोगी होस् भन्ने उद्देश्यका साथ हाल दूतावासले आफ्नो वेभसाइटमा ईजरायल तथा साईप्रसमा रहेका नेपालीहरुको ईमर्जेन्सी रजिष्ट्रेशन शुरु गरेको छ। त्यसमा हालसम्म ईजरायलबाट १,७०० जना र साईप्रसबाट करिब २,६०० जनाले रजिष्ट्रेशन गर्नुभएको छ। कुनै पनि समस्याको पहिचान तथा सो को समाधानका लागि समयमै उपयुक्त निर्णय लिनुपर्ने हुन्छ। सही निर्णयका लागि तथ्यांङ्कको आवश्यकता पर्दछ। त्यसैले विभिन्न सम्भावित समस्याहरुको सामयिक समाधान पहिल्याउन सूचना/तथ्यांकको महत्व हुने यथार्थलाई हृदयङ्गम गर्दै बाँकी नेपालीहरुलाई समेत अनिवार्य रजिष्ट्रेशनका लागि अनुरोध गर्दछौं।
हालसम्म साईप्रसमा कुनै पनि नेपाली कोरोना भाइरसबाट संक्रमित हुनुहुन्न। ईजरायलमा १ जना संक्रमित रहनुभएको र वहाँको अवस्थामा समेत उल्लेख्य सुधार छ। वहाँसँग दूतावासले निरन्तर सम्पर्क गरिरहेको र मनोबल उच्च बनाउने काम गरिरहेको छ।
यहाँहरुलाई जुनसुकै बेला समस्या पर्न सक्ने कुरालाई मध्यनजर गर्दै हामीले दूतावासको वेभसाईट तथा फेसबुक पेजमा यस राजदूतवासका प्रवक्ता एवं उपनियोग प्रमुख श्री अर्जुन घिमिरे तथा सहचारी श्री प्रदीप सागर गिरीको मोबाइल नम्बरहरु समेत राखेका छौं। आशा छ यसले यहाँहरुलाई आफ्नो समस्या राख्न थप सहज बनाउनेछ। तपाईँहरुका समस्याहरु ईजरायल तथा साईप्रस सरकार लगायत विभिन्न व्यक्ति, संघ संस्था एवं समुदायसँग समन्वय गर्दै हल गर्न दूतावासले अधिकतम प्रयास गर्दै आइरहेको र यसलाई निरन्तरता दिने विश्वास दिलाउन चाहन्छौं।
स्वस्थ रहौं, सुरक्षित रहौं भन्दै पुनः एकपटक नव वर्ष २०७७ को शुभ अवसरमा सबै नेपालीहरुमा सु-स्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

डा. अन्जान शाक्य
राजदूत
तथा नेपाली राजदूतावास परिवार, तेल अबिब, ईजरायल।
2077/01/01