COVID 19 को बारेका माननीय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीज्यू तथा माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवज्यूको ईजरायल, दक्षीण अफ्रिका, मलेसिया, जापान, दक्षिण कोरियाका नेपाली नियोग स्थीत महामहिम राजदूतहरू तथा नियोग प्रमुखहरूसँग भएको भिडियो कन्फ्रेन्सको बारेमा प्रेस विज्ञप्ती।

प्रेसविज्ञप्ति
परराष्ट्र मन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवालीले आज मलेशिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिका स्थित नेपाली नियोगप्रमुखहरूसँग COVID 19 सङ्क्रमणको स्थिति, ती मुलुकहरूमा रहेका नेपालीको अवस्था, कोरोना सङ्क्रमणले अर्थव्यवस्थामा पार्नसक्ने असर तथा सोबाट नेपालीहरूको रोजगारीमा पर्ने सम्भावित प्रभाव जस्ता विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्नुभयो । सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री रामेश्वर राय यादवको समेत उपस्थिति रहेको थियो ।
छलफलको क्रममा नियोगप्रमुखहरूले दूतावास रहेको तथा सहप्रमाणीकृत मुलुकहरूमा भएको सङ्क्रमणको अवस्था, त्यहाँको सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदमहरू, नेपाली नागरिकहरूको अवस्था, दूतावासले नेपाली नागरिकलाई पुर्‍याइरहेका नियमित र आकस्मिक सेवा लगायतका विषयहरूमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा माननीय परराष्ट्र मन्त्रीले नेपाल सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदमहरूको बारेमा जानकारी दिँदै नियोगप्रमुखहरूलाई आफू प्रमाणीकृत मुलुकहरूमा भएका सङ्क्रमण सम्बन्धी नियमित रूपमा प्रतिवेदन गर्ने, नेपालीहरूको स्वास्थ्य, सुरक्षा तथा रोजगार सम्बन्धमा रोजगारदाता कम्पनी तथा सरकारसँग निकट सम्पर्कमा रही उनिहरुको तलव तथा सामाजिक सुरक्षाको निरन्तरताको पहल गर्न, नेपालीहरूलाई स्थानीय सरकारले जारी गरेको सुरक्षा सम्बन्धी निर्देशन पालना गर्ने बारेमा सुसूचित गराउने तथा नेपाली समुदाय र दूतावास परिवार समेत सङ्क्रमणका बारेमा जागरूक रही सुरक्षाका आवश्यक उपायहरू अवलम्बन गर्न निर्देशन दिनुभयो ।
भिडियो कन्फरेन्समा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री रामेश्वर राय यादवले नेपाली राजदूतावास प्रति अहिलेको संवेदनशील र अप्ठारो परिस्थितिमा विदेशमा रहेका नेपालीहरुले ठूलो भरोसा राखेका हुदा स्थानीय सरकार एवं रोजगारदातासंग समन्वय गरेर परिआउने समस्या र चुनौतीहरुको सामना गर्न आग्रह गर्नु भयो ।
छलफल कार्यक्रममा परराष्ट्र सचिव श्री शंकरदास बैरागी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री बिनोद के.सी. र परराष्ट्र मन्त्रालयका महाशाखा प्रमुखहरुको समेतको सहभागिता रहेको थियो ।

परराष्ट्र मन्त्रालय
सिंहदरवार, काठमाडौं
2076 चैत १२