साईप्रसमा रहनुभएका नेपालीहरुमा दूतावासको आह्वान

कोरोना भाइरसबाट हालसम्म संसारका २०८ countries and territories का १२ लाख ८० हजार भन्दा बढी व्यक्तिहरु संक्रमित भइसकेको, ६९,७५७ जनाको मृत्यु भइसकेको, विश्व महाशक्ति अमेरिका, चीन लगायत बेलायत, फ्रान्स, जर्मनी, ईटाली जस्ता विकसित मुलुकहरु समेत संकटसँग जुधिरहेको यथार्थको हामी सबै साक्षी छौं। यसका कारण मानव जीवनका समग्र क्षेत्रहरुमा अनेकन् समस्याहरु सिर्जना भइरहेको स्थिति छ।

यस परिस्थितिमा विश्वभर छरिएर रहेका नेपालीहरुको हितमा काम गर्नका लागि सम्बन्धित नेपाली नियोग, अवैतनिक वाणिज्यदूतावास, गैर आवासीय नेपाली संघ, विभिन्न पेशागत तथा राजनीतिक-सामाजिक संघ-संस्थाहरु बीचमा समन्वय एवं सहकार्य हुनुको विकल्प छैन।

साईप्रसमा रहनुभएका नेपालीहरुको सहजताका लागि राजदूतावासले विभिन्न पहल गर्दै आएको, खासगरी पछिल्लो समय नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्या समाधानार्थ नेपाल सरकारका सम्बन्धित निकायहरुसँग समन्वय गरी सिर्जित परिस्थितिलाई सामान्यीकरण गर्न दूतावासले पहल गरेको यहाँहरुलाई थाहै छ।

साईप्रसमा रहनुभएका नेपालीहरुको स्थिति तथा समस्याका बारेमा त्यहाँस्थित नेपाली अवैतनिक वाणिज्यदूत, गैर आवासीय नेपाली संघ (NRNA) लगायतसँग सम्पर्क गरी दूतावासले निरन्तर सूचना/जानकारीहरु लिइरहेको छ। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, साईप्रसले दूतावासमा प्रेषित गरेको ज्ञापन-पत्रमा उल्लेख भएका विषयहरुबाट दूतावासलाई त्यहाँका समस्याहरुका बारेमा थप जानकार हुन मद्दत मिलेको छ। यस सम्बन्धमा साईप्रसमा रहनुभएका नेपाली अवैतनिक वाणिज्यदूत, गैर आवासीय नेपाली संघ तथा अन्य व्यक्ति, संघ-संस्थाको साथ, सहयोग एवं भूमिका प्रशंसनीय छ।

विशेष रुपमा नेपाली दूतावास तथा अवैतनिक वाणिज्यदूतसँगको समन्वयमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, साईप्रसबाट त्यहाँस्थित विभिन्न व्यक्ति, संघ संस्थाको सहयोग र अति समस्यामा परेका नेपालीहरुका लागि दाल, चामल, आलु लगायतका राहत सामाग्रीहरु वितरणको कार्य शुरु गरेको छ। यस कार्यको सराहना गर्दै भविष्यमा समेत यस्तै भूमिकाको अपेक्षा गर्दछौं।

त्यहाँ रहनुभएका केही नेपालीहरुले आफूहरुलाई स्वदेश फिर्तीको वातावरण मिलाइदिन अनुरोध गर्नुभएको छ। यस विषयलाई हामीले सम्बन्धित निकायहरुमा जानकारी गराएका छौं। माननीय परराष्ट्र मन्त्रीज्यूले हरेक नेपालीहरू जो जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहन आग्रह गर्नुभएको छ। तर अहिलेको परिस्थिति लम्बिरहेमा र समस्या बढ्दै गएको खण्डमा सरकारले आवश्यक पहल गर्नेछ भन्नेमा हामी विश्वस्त छौं। यस विषयमा सरकारबाट प्राप्त निर्देशन, सूचना तथा जानकारीहरू समयमै सम्प्रेषण हुने नै छन्।

भाइरसको संक्रमणबाट जोगिन एवं परिस्थितिसँग जुध्नका लागि अनुशासनमा रहँदै साईप्रस सरकार तथा नेपाल सरकारले जारी गरेका सूचनाहरु हेर्न एवं पालना गर्न, दूतावासको फेसबुक पेज follow गर्न, वेभसाईट हेर्न साथै मास्क, ग्लोभ्स, साबुन पानी, Hand wash, Sanitizer को नियमित प्रयोग गर्न तथा तातो पानी पिइरहन, कुनै समस्या भए सो को जानकारी फोन, फेसबुक, ईमेल, आदिका माध्यमबाट दूतावासमा गराउन सबैमा हार्दिक अनुरोध गर्दछौं।

डा. अन्जान शाक्य
राजदूत
तथा राजदूतावास परिवार
२४ चैत्र, २०७६

पुनश्चः COVID-19 सँगै ईजरायल र साईप्रसका विभिन्न स्थानमा रहनुहुने नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिँदै आइपर्न सक्ने कुनै पनि समस्या समाधानमा सहयोगी होस् भन्ने उद्देश्यका साथ हाल दूतावासले आफ्नो वेभसाइटमा ईजरायल तथा साईप्रसमा रहेका नेपालीहरुको ईमर्जेन्सी रजिष्ट्रेशन शुरु गरेको छ। त्यसमा हालसम्म साईप्रसबाट करिब २५०० जनाले मात्र रजिष्ट्रेशन गर्नुभएकोले त्यहाँ रहनुहुने बाँकी नेपालीहरुलाई https://il.nepalembassy.gov.np/emergency-registration-form/ मा क्लिक गरी अनिवार्य रजिष्ट्रेशनका लागि अनुरोध गर्दछौं।