साईप्रसमा रहनुभएका नेपालीहरुलाई दूतावासको सन्देश

कोरोना भाईरसका कारण विश्व जगत नै आक्रान्त बनिरहेको वर्तमान अवस्थामा अध्ययन तथा रोजगारीका क्रममा साईप्रसमा रहनुभएका कतिपय नेपालीहरुको कामको अवसर कटौती हुन गई वहाँहरूलाई जीवनका न्यूनतम आवश्यकताहरु पूरा गर्न समेत समस्या भइरहेको सुन्दा हामी अत्यन्तै दुखित छौं। यस्तो परिस्थितिमा हामी निम्न सन्देश प्रवाह गर्न चाहन्छौं-

• साईप्रसमा रहेका नेपालीहरुको समस्याका बारेमा त्यहाँस्थित नेपाली अवैतनिक वाणिज्यदूत, गैर आवासीय नेपाली संघ, साईप्रस लगायतसँग निरन्तर सम्पर्क भइरहेको छ। साथै, भविष्यमा आई पर्नसक्ने समस्यासँग सम्बन्धित विषयहरुमा समेत दूतावास परिवार सचेत छ।
• आज विहान मात्रै नेपालका माननीय परराष्ट्र मन्त्री, माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री लगायतका उच्च सरकारी अधिकारीहरुसँग Video Conference मार्फत् कुराकानी भएको थियो। यहाँहरुको समस्या हामीले नेपाल सरकार समक्ष पुर्‍याइसकेका छौं। सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ। समस्या समाधानका लागि वहाँहरूले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
• खासगरी विद्यार्थीहरुको समस्या NOC सँग सम्बन्धित रहेको पाइएकोले हामीले यो परिस्थिति रहेसम्मका लागि विना NOC पनि नेपालबाट रकम प्राप्त गर्न सक्ने वातावरण बनाइदिन लेखी पठाएका छौं। साथै, नेपालीहरुलाई समेत आफ्ना नागरिक सरह व्यवहार गर्न, भिषा लगायतका छूट, उपचार तथा अन्य सुविधाहरु प्रदान गर्न साईप्रस सरकार समक्ष अनुरोध गरेका छौं।
• गैर आवासीय नेपाली संघ, साईप्रसले विभिन्न व्यक्ति, संघ संस्थाको सहयोगमा अति समस्यामा परेका नेपालीहरुका लागि चामल, दाल, आलु लगायतका खाद्य सामाग्रीहरु वितरण गर्न लागेको सुन्दा हामी हर्षित छौं। यस घडीमा वहाँहरुले देखाउनुभएको उदारता, मानवीयता र सत्कर्मको हामी मुक्त कण्ठले प्रसंसा गर्न चाहन्छौं।
• यस्तै समस्या अध्ययन तथा रोजगारीका क्रममा पोर्चुगल, जापान, अष्ट्रेलिया, स्पेन, पोल्याण्ड, जर्मनी, इटालीजस्ता मुलुकमा रहनुभएका नेपालीहरुले समेत सामना गर्नु परिरहेको सुन्नमा आएकोले समस्या समाधानार्थ नेपाल सरकारले उपयुक्त कदम चाल्नेछ भन्ने हामीलाई विश्वास छ।

• संकटको समयमा हल्ला र भ्रमका कारण मन चिन्तित, अस्थिर हुने हुँदा सामाजिक सन्जालहरुमा हुन सक्ने दुष्प्रचारहरुका पछि नलाग्न, आधिकारिक सूचना तथा जानकारीका लागि नेपाली राजदूतावासको वेभसाइटका अलावा सम्बन्धित मुलुकको स्वास्थ्य मन्त्रालय र जिम्मेवार निकायहरुका वेभसाइट हेर्न अनुरोध गर्दछौं।
• दूतावास सदैव यहाँहरुको साथमा रहेको विश्वास दिलाउन चाहन्छौं, यतिबेला धैर्यता र आत्मविश्वासका साथ परिस्थितिको डटेर सामना गर्न साथै त्यहाँको सरकारले चालेका कदमहरु र निर्णयहरुको पूर्ण परिपालना गर्नुहुन सबै नेपालीहरुलाई दूतावास परिवार हार्दिक अनुरोध गर्दछौं।

डा. अन्जान शाक्य
राजदूत
तथा राजदूतावास परिवार

१२ चैत्र, २०७६