नेपाल र ईजरायलबिच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

ईजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था MASHAV को तत्वावधानमा ईजरायली कृषि प्रविधि नेपालमा भित्र्याउने उद्देश्यले नेपालमा Agricultural Center of Excellence स्थापना गर्नेसम्बन्धी समझदारीपत्र (Memorandum of Understanding-MoU) मा समेत नेपाल र ईजरायलबीच आजै हस्ताक्षर सम्पन्न भएको छ। सो समझदारीपत्रमा समेत नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यज्यूले तथा ईजरायलको तर्फबाट ईजरायली परराष्ट्र मन्त्री H. E. Gabi Ashkenazi ले हस्ताक्षर गर्नुभएको थियो।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीब्रता पाउने छ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने विश्वास गर्न सकिन्छ। यसले कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ।

यसका साथै विगत केही समयदेखिको छलफललाई निश्कर्ष दिँदै ईजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच आज नेपाल र ईजरायलबीच “ईजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता” मा हस्ताक्षर भएको छ। सम्झौतामा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यज्यूले तथा ईजरायलको तर्फबाट ईजरायली परराष्ट्र मन्त्री H. E. Gabi Ashkenazi ले हस्ताक्षर गर्नुभएको थियो।

यस Framework Agreement मा हस्ताक्षर भएसँगै ईजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल/रेष्टुरेष्ट, निर्माण क्षेत्र लगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ। यद्यपि, प्रत्येक क्षेत्रका लागि Implementation Protocol मा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुनेछ।

यसअघि नै विभिन्न चरणमा छलफल भई सहमति समेत भइसकेकोले पहिलो क्षेत्रका रुपमा ईजरायलको नर्सिङ क्षेत्र (Hospitals, Nursing Homes, Day Care Centers, etc.) मा नेपालबाट केयरगिभर ल्याउने सम्बन्धी Implementation Protocol मा छिट्टै सम्झौता हुनेछ। नेपालका लागि ईजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारी बीच सो Protocol मा काठमाडौंमा हस्ताक्षर हुनेछ र तत्पश्चात् केही महिनाभित्रै पहिलो चरणमा ५०० नेपालीहरु ईजरायल आउनेछन्। यसरी छानिने श्रमिकहरु सरकारी तवरबाट मात्रै छानिनेछन। Implementation Protocol मा हस्ताक्षर गरेपछि यसका लागि आवश्यक योग्यता, प्रमाणपत्रहरु तथा आवेदन दिने ठाउँसमेतको विस्तृत विवरण समेत राखी अर्को सूचना प्रकाशन गरिने छ।

सम्झौतामा हस्ताक्षर हुनुअघि नेपाल र ईजरायलबीच द्विपक्षीय वैठक सम्पन्न भएको थियो। वैठकका क्रममा महामहिम राजदूत डा. अन्जान शाक्यज्यूले द्विपक्षीय सम्बन्धका विविध आयामहरु तथा आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा चर्चा गर्नुभएको थियो। परराष्ट्र मन्त्री समेत नेपालसँग सहकार्य गर्न अत्यन्तै ईच्छुक देखिनुभएको पाइएको छ।